देवराज सुवेदी श्री महाकाली माध्यमिक विद्यालयको मेलम्ची १२ को ५१ औं वार्षिक उत्सव तथा ४७ औं अभिभावक भेला सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले यस विद्यालय मेलम्ची नगरपालिकामा मात्र नभएर जिल्लामै चिनिएको विद्यालय रहेको बताउनुभयो । उप प्रमुख प्रधानले यो क्षेत्र प्रख्यात रहेकाले यसलाई अझै विकास गर्दै अगाडि जाने कुरामा सधैं साथ र सहयोग रहने बताउनुभयो । यहाँको खानेपानीको समस्या समाधानका लागी आफुहरु निर्वाचित भएदेखि नै लागिपरेको बताउनुभयो । विद्यालयको घेराबार,कक्षाकोठा ब्यबस्थापन लगायतको काम भैसकेको भन्दै आगामी दिनमा समेत आवश्यक काम गर्दै जाने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि मेलम्ची नगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेश तामाङले गुणस्तरीय शिक्षाको लागी वडा र नगरपालिका बाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले वडा भित्र रहेका सबै विद्यालयलाई उत्तिकै महत्त्व दिनुपर्ने भएकाले शिक्षा विकासको सधैं साथ र सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका जग्गा दाता,पुर्वप्रधानाध्यापक लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा लोक गायक सुर्यमणी आचार्य,सुरेश तामाङ,बालिका तामाङ,अर्जुन सुन्दास लगायत कलाकारले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो भने विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विकेन्द्र स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद तिवारीले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको अक्षयकोष स्थापनाको विद्यालयका पुर्वप्रधानाध्यापक गणेशप्रसाद तिवारीले लागी १ लाख ११ हजार १११ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा समाजसेवी ठाकुर तिवारी,अभिभावक प्रतिनिधि क्षितिज तामाङ लगायतले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।कार्यक्रम विद्यालयका शिक्षक आसमान तामाङले गर्नुभएको थियो । वार्षिकोत्सबको अवसरमा विद्यालयमा संचालित विभिन्न प्रतियोगिताका विजेता तथा सहभागी खेलाडीहरुलाई सम्मान गरिएको थियो ।