पालिका अध्यक्ष नेपालमाथिको आरोप तथ्यहीन : प्रवक्ता आचार्य

दिपक विक्रम देउजा


सिन्धुपाल्चोक ।इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उपभोक्ता समिति मार्फत ४३ लाख ४२ हजार रुपैयाँ घोटाला गरेको भन्ने समाचार तथ्यहीन र भ्रामक भएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले बताउनुभएको छ।

प्रवक्ता आचार्यले गाउँपालिकाको मुख्य नेतृत्व अध्यक्ष, उपाध्यक्ष तथा आफू स्वयंलाई समेत जोडेर समाचारको शीर्षक एकातिर र तथ्य अर्कैतिर पारेर प्रस्तुत गरिएको भन्दै घोर आपत्ति जनाउनुभयो। यस्ता भ्रामक समाचारले इन्द्रावतीका सोझासिधा नागरिकमा अनावश्यक भ्रम फैलाउने कार्य भएको उहाँको भनाइ छ।

उहाँले पालिकालाई आर्थिक भार पर्ने गरी राज्यका कानुन, नीति र परिधिभन्दा बाहिर गएर कुनै पनि रकम खर्च नगरिएको स्पष्ट पार्नुभयो। पालिकाको स्रोत–साधनको अवैध दोहन तथा दुरुपयोग रोक्न गाउँपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

महालेखा परीक्षणका क्रममा प्राप्त सुझाव तथा महालेखाले औंल्याएका नीतिगत खर्चका विषयमा गाउँपालिका सचेततापूर्वक अघि बढेको कारण अघिल्लो आर्थिक वर्षमा इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक जिल्लामै सबैभन्दा कम बेरुजु भएको पालिका घोषित भएको स्मरण गराउनुभयो।

स्वास्थ्य, शिक्षा, कर्मचारी तथा उपभोक्ता समितिसम्बन्धी विषय उठाएर प्रकाशित समाचारहरू पनि भ्रामक रहेको भन्दै प्रवक्ता आचार्यले यस्ता तथ्यहीन प्रचारप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया