ठाडोखोला–कालढुङ्गा झोलुङ्गे पुल समुद्घाटन सम्पन्न

दिपक विक्रम देउजा

ठाडोखोला–कालढुङ्गा झोलुङ्गे पुल समुद्घाटन सम्पन्न


सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७ र ८ लाई जोड्ने ठाडोखोला–कालढुङ्गा झोलुङ्गे नाम्लाङखोलामा नब निर्मित पुलको समुद्घाटन कार्यक्रम २०८२ साल चैत ४ गते बुधबार सम्पन्न भएको छ। पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष विष्णुबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।


पाँचपोखरी थाङपाल गाउँपालिका तथा कादुरी एग्रिकल्चर एण्ड एसोसिएसन (ब्रिटिस गोर्खाज नेपाल) को सहयोगमा निर्माण भएको उक्त पुलले स्थानीय बासिन्दाको आवतजावतलाई सहज बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, सदस्यहरू, गाउँकार्यपालिका सदस्य, सुरक्षा निकायका प्रतिनिधि, अस्पताल प्रमुख डा. प्रवेश गजुरेल लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रमको सञ्चालन वडा नं. ८ का पशु स्वास्थ्य प्राविधिक राजेश खड्काले र राजन भुजेलले मिलेर गर्नुभएको थियो भने व्यवस्थापनमा अस्पतालका प्रशासन प्रमुख सरोज धिताल, ठाडोखोला–कालठोटा झोलुङ्गे पुल योजना उपभोक्ता समिति तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष सुके तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

संस्थाको तर्फबाट प्रोजेक्ट म्यानेजर रमेश कुमार श्रेष्ठले पुललाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो। कादुरी संस्थाले हालसम्म नेपालभर ६०० भन्दा बढी झोलुङ्गे पुल निर्माण गरिसकेको र प्रत्येक वर्ष करिब १४ वटा पुल निर्माण गर्दै आएको जानकारी समेत कार्यक्रममा दिइयो। सिन्धुपाल्चोक जिल्लामा भने उक्त संस्थाले पहिलोपटक पुल निर्माण गरेको हो।

यस पुलको प्रारम्भिक लागत एक करोड २४ लाख रुपैयाँ अनुमान गरिएको भए पनि निर्माण कार्य सम्पन्न हुँदा लागत घटेर एक करोड ११ लाख रुपैयाँमा सम्पन्न भएको जानकारी दिइयो। पुल निर्माणमा गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय योगदान रहेको थियो।

कार्यक्रममा स्थानीय लोक कलाकारहरूले लोकदोहोरीमार्फत आफ्ना अनुभव र भावना प्रस्तुत गर्दै संस्थाप्रति आभार व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष टासी लामाले पुल निर्माण आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गर्दै कादुरी संस्थाप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। साथै, भविष्यमा सोही खोलामा थप दुईवटा पुल निर्माण गर्न संस्थासँग अनुरोध गर्नुभयो। उहाँले जग्गादाता मरिचमान तामाङ, चतुर्मान तामाङ र एकदमै सिंह तामाङ लगायतलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो।

त्यस्तै वडा नं. ८ का वडा अध्यक्ष विष्णुबहादुर खड्काले विगतमा स्थानीयले भोग्दै आएका कठिनाइहरू अब अवसरमा परिणत भएको उल्लेख गर्दै आगामी दिनमा थप दुईवटा पुल निर्माणका लागि पहल गरिने र संस्थासँग निरन्तर सहकार्यको अपेक्षा गरिएको बताउनुभयो। यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमा रहेका साधारण समस्याहरूलाई समाधान गर्न सके भविष्यमा विकासको क्षेत्रमा अगाडि बढ्न सकिने आशा व्यक्त गर्न सकिन्छ।आशा व्यक्त गर्न सकिने कुरामा जोड दिनुभयो।

उक्त कार्यक्रमको बारेमा विस्तृत विवरण सरोज धिताल ज्यूले बताउनुभयो ।

प्रतिक्रिया