सिन्धुपाल्चोक, ५ पुस ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ८ मा अवस्थित श्री लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। आज विद्यालय प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सामग्रीहरू वितरण गरिएको हो।
२०४५ सालमा स्थापना भएको यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर र उपस्थितिमा सुधार ल्याउने उद्देश्यले सो सहयोग उपलब्ध गराइएको हो । यस पवित्र कार्यमा विभिन्न सामाजिक संस्थाहरूले हातेमालो गरेका छन्। कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं, "शुभतारा" (डिस्ट्रिक्ट ३२५ एफ नेपाल), लायन्स क्लब अफ मेलम्ची (डिस्ट्रिक्ट ३२५ एफ नेपाल), अन्जु कुइकेल शिक्षा स्मृति कोष, चाबहिलले सहयाेग गरेका हुन् ।
बिहीबार आयोजित 'विद्यालय पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम' मा विद्यालयका बालबालिकाहरूलाई नयाँ पोशाक, कापी, कलम लगायतका सामग्री वितरण गरियो। कार्यक्रममा विद्यालयका प्रतिनिधि, लायन्स क्लबका पदाधिकारीहरू र स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो।
सहयोग प्राप्त गरेपछि विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए। सहयोगी संस्थाहरूले आगामी दिनमा पनि यस्ता सामाजिक र शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।