सिन्धुपाल्चोक। मेलम्ची, तिपेनी हुँदै भोताङसम्म पुग्ने मेलम्ची खाल्डेखोला खण्ड सडक स्तरोन्नति तथा कालोपत्रे कार्यको शिलान्यास गरिएको छ ।
मन्त्री तामाङले प्रदेश सरकारले सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेको बताउँदै यो सडकले मेलम्ची क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । विशेषतः पाँचपोखरी थाङपाल गाउँपालिकाको लाइफलाइनको रुपमा रहेको यस सडकको ३२ किलोमिटर क्षेत्रलाई पूरा गर्नेगरी आफू लागि परेको बताउनुभयो ।
सडक,सिंचाइ,पुल लगायत यहाँको भौतिक तथा सामाजिक विकासका लागि आफूले निरन्तर पहल गरिरहेको मन्त्री तामाङले बताउनुभयो ।
कार्यक्रमका बिशेष अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले लामो समयदेखि बन्न नसकेको यो सडक धेरै प्रयासपछि बन्न लागेको बताउनुभयो । सबैको अथक प्रयासपछि बजेट पार्न सफल भएको बताउँदै कसैले पनि व्यक्तिगत तथा पार्टीगतरुपमा जस लिन जरुरी नरहेको प्रमुख तामाङको तर्क थियो ।
पर्यटकीय धार्मिकस्थल पाँचपोखरी पुग्ने मुख्य बाटोको रूपमा रहेको यो सडक पाँचपोखरी तथा मेलम्ची नगरको मात्रै नभई सबै नेपालीहरूको भएको धारणा व्यक्त गर्नुभयो । साथै यस सडकका कारण मेलम्ची नगरपालिकाले धेरै आलोचना खेप्नु परेको बताउँदै छिटोभन्दा छिटो सहज यात्राको वातावरण बनाउने प्रतिबद्धतासमेत जनाउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले आफ्नो गाउँपालिकाको लाइफ लाइनको रुपमा रहेको सडक कालोपत्रेका लागि आज शिलान्यास गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले पूर्व भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, अमन मास्के, कृष्णकुमार तामाङ समिर लगायत आफूहरुको लगातारको मिहेनत र संघर्ष पश्चात् आज गौरवको योजनाको सुरुवात भएको बताउनुभयो ।
आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोक चौताराबाट ईफाता/गेहेन्द्र जे.भी. सँग ९ करोडको ठेक्का सम्झौता गरी संचालन गर्न लागिएको सो सडक परियोजनाले स्थानीय बासिन्दालाई सहज आवागमन र बजार पहुँच प्रदान गर्नेछ ।
पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख इन्जिनियर प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलम्ची वडा नम्बर १० का अध्यक्ष अमृत खनाल, वडा नम्बर ९ का अध्यक्ष किरणदीप खड्का लगायत पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाका जनप्रतिनिधिहरू, स्थानीय लगायतको बाक्लो सहभागिता रहेको थियो ।

