सरेश नेपाल द्वारा निर्वाचन केन्द्रित आफ्नो ‘सपना–बुझाइ–संकल्प’ सहितको बाचापत्र सार्वजनिक

दिपक विक्रम देउजा

सिन्धुपाल्चोक ।फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले आ–आफ्ना घोषणा पत्र सार्वजनिक गर्न सुरु गरेका छन्। नेकपा एमालेको केन्द्रीय घोषणा पत्र अझै सार्वजनिक नभए पनि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार सरेश नेपालले आफ्नो क्षेत्र केन्द्रित बाचा पत्र सार्वजनिक गरेका छन्।
नेपालले सार्वजनिक गरेको बाचा पत्रलाई ‘सपना, बुझाइ र संकल्प’ गरी तीन खण्डमा विभाजन गरिएको छ।

बाचापत्र
"समृद्ध नेपाल, सुखी नेपाली" हाम्रो राष्ट्रिय गन्तव्य हो। यसलाई व्यवहारमा उत्तार्न हाम्रा प्राकृतिक सम्पदाहरु जल, जंगल र जमिनको बहुआयामिक उपयोग गरी उत्पादन वृद्धि तथा पूँजि, सीप, दक्षता र आधुनिक प्रबिधि मार्फत् समुन्नत् समाज निमार्ण गर्ने हाम्रो सपना हो।

समझ (बुझाई) विकासको संवाहकका रूपमा

यस निर्वाचन क्षेत्रमा जुगल हिमाल, सुनकोशी, भोटेकोशी, ब्रह्मायणी लगायत अनेकों नदीनालाहरू, ऐतिहासिक तथा साँस्कृतिक सम्पदाहरु, प्रसिद्ध तातोपानी नाका, उर्वर र जैविक विविधता सहितका जमिन छन् । यसको समुचित उपयोग गरी जीवनस्तर उठाउने व्यवस्थित योजना, कानुन तथा राज्य संयन्त्रहरूमा सुधार र परिचालन मार्फत् समुन्नत बजार र गाउँको विकास गर्न सकिन्छ ।

मित्रराष्ट्र चीनसँग जोडिएको तातोपानी नाका व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सकिन्छ । यो नाकाको पहुँचमार्गको रूपमा रहेको अरनिको राजमार्गको स्तरोन्नती गरी सुरक्षित र भरपर्दो यातायातको विकास गर्न सकिन्छ ।

ग्रामिण विकासको मेरुदण्ड नै सडक हो। यसको प्राथमिकीकरण तथा स्तरीकरण गरी सुरक्षित, भरपर्दो र ग्रामिण क्षेत्रको विकासको महत्वपूर्ण आधार बनाउन सकिन्छ । पूर्वाधार विकास तथा बस्तीहरूको सुरक्षामा बन तथा वातावरण क्षेत्रको घनिष्ट सम्बन्धलाई कानुनी रूपमा व्यवस्थित गर्न सकिन्छ ।

गुणस्तरीय शिक्षा मार्फत् युवाहरुलाई अन्तराष्ट्रिय जगतसँग प्रतिश्पर्धा गर्ने सामर्थ्यको विकास गर्ने तथा स्वदेशमाने उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा युवा शक्तिको सम्मानजनक व्यवस्थापन गर्ने नीतिगत तथा कानुनी प्रबन्ध मिलाउन सकिन्छ ।

स्वास्थ सेवालाई गुणस्तरीय तथा सर्वसाधारणको पहुँचमा ल्याउन आवस्यक छ ।

चिनको विशाल स्वशासित क्षेत्र तिब्बत र मुलुककै ठूलो बजार क्षेत्र रहेको काठमाडौं उपत्यका जोड्‌ने सेतुको भुमिकामा रहेको यस जिल्लाको कृषी, पर्यटन, जलविद्युत उत्पादन तथा बैकल्पिक उर्जा, पशुपालन, मत्स्यपालन लगायत साना ठूला उद्योगहरूको विकास र बजार व्यबस्थापनको निम्ति यस निर्वाचन क्षेत्र अनुकुल छ।

उच्च पहाडी भुभागको कारण भौसमजन्य विपद् तथा भुकम्पको जोखिम तुलनात्मकरुपले बढी हुने र हिमाली क्षेत्रको पानीढलो भएको नदीनाला तथा जलवायु परिवर्तनका असरका कारण तल्लो तटीय क्षेत्र असुरक्षित भईरहने स्थितिको दिगो विकल्प दिनु पर्ने आवश्यकता छ । यसको निम्ति प्रभावकारी स्रोत साधन तथा कानुनी प्रबन्धको बन्दोबस्त गर्न अपरिहार्य छ।

सामाजिक, आर्थिक तथा साँस्कृतिकरूपले पछाडि पारिएका समुदायको उचित सम्मान सहित विकासको हकदारको रूपमा मुलुकको आर्थिक विकासको मुलधारमा ल्याउन जरूरी छ । परम्परागत गुठी लगायत शोषण, विभेद तथा उत्पिडनको अन्त्य गर्दै कानुनी प्रबन्ध मिलाउन जरुरी छ। हिंसा र विभेदमुक्त न्यायपूर्ण समाज निर्माण गरिनुपर्दछ ।

यस निर्वाचन क्षेत्रमा कृषिमा आधारित समुदायले भोग्नुपरेका मल, बिउबिजन, सिंचाई र उन्नत प्रबिधिको प्रयोग, कृषि क्षेत्रको व्यवसायिकीकरण, बजारीकरण तथा यान्त्रिकीकरण तथा कृषि मजदुरको मर्यादित जीवन तथा खानेपानी, सरसफाई एवम् वातावरणीय क्षेत्रको विकासका मानव समाज र बन्यजन्तु बीचको दुन्दु निराकरणको गर्दै लैजानुपर्दछ ।

संकल्प

स्वच्छ छवि, सर्वसाधारणसँगको पहुँच तथा निश्कलंकको पहिचान जनप्रतिनिधिको आधारभुत शर्त हो भन्ने मान्यताको दृढतापूर्वक अवलम्बन गर्दै भ्रष्टाचार र व्यथिति विरुद्ध निरन्तर संघर्ष गरिरहने छु ।

जातजाति, भाषा, धर्म, वर्ग वा सम्प्रदायका आधारमा हुने उत्पीडन, अन्याय र विभेदको विरूद्ध अघि बढ्‌दै समतामूलक र समावेशी राज्यको पक्षपोषणमा प्रतिबद्ध हुनेछु ।

राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका लागि सदैव अडिग रहनेछु ।

शान्ति, सुशासन, सामाजिक न्याय अपरिवर्तनीय विषय हुन् भन्ने मान्यतामा दृढ छु।

सबै पुस्ताका आवाजहरू राम्ररी सुन्ने छु । शुशाशन र विकाससँग जोडिएको जेनजेड पुस्ताको न्यायोचित आवाजप्रति मेरो दृढ ऐक्यवद्धता छ। यो मेरो प्राथमिक जिम्मेवारी हो भन्ने ठानेको छु ।

नीति, नियम तथा कानुन निर्माण गर्दा वा विकास निमार्णमा स्रोत साधनको परिचालनमा विचौलियको प्रभावबाट मुक्त हुने छु ।

नेपालको संविधान, मानव अधिकारको विश्वब्यापी घोषणा तथा मुल्यमान्यताप्रति प्रतिबद्ध छु।

राष्ट्रिय शक्तिको पक्षपोषण, अराजकताको अन्त्य तथा राजनैतिक स्थिरताको पक्षमा प्रतिबद्ध छु।

नेपालले आफ्नो संकल्प अन्तर्गत स्वच्छ छवि, सर्वसाधारणसँग सहज पहुँच र निःस्वार्थ सेवाभावलाई जनप्रतिनिधिको आधारभूत मूल्यका रूपमा दृढतापूर्वक अवलम्बन गर्ने बताएका छन्।


प्रतिक्रिया