राष्ट्रपति भईसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुदैनः महासचिव पोखरेल

दिपक विक्रम देउजा

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्बोच्च पदमा पुगि सकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित नहुने बताउनुभएको छ । मेलम्चीमा आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठकको उद्घाटन गर्दै उहाँले राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो नहुने निष्कर्षमा पार्टी पुगेको उहाँको भनाई छ ।
सोही क्रममा उहाँले एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेको उल्लेख गर्दै सबैलाई एकढिक्का भई एकताको आधारमा संगठनलाई सुदृढ बनाउन नेता–कार्यकर्तालाई आव्हान गर्नुभयो।
महासचिव पोखरेलले ७० वर्षभन्दा माथिका नेताले नेतृत्व लिन नहुने भन्ने भ्रमलाई चिर्नुपर्ने बताउँदै “विकसित देशहरूमा समेत ७० बर्ष माथिका नेताले नेतृत्व गरिरहेकाले यसलाई कमजोरीको रूपमा नलिनुपर्ने” बताउनुभयो । उहाँले देशमा विकास र शान्ति चाहने पार्टी एमाले नै भएको भन्दै अस्थिरताको राजनीति गर्नेहरू अन्ततः परास्त हुने विश्वास व्यक्त गर्नुभयो।
एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनपछि पहिलो पटक परिषद् बैठक आयोजना गरीएको हो । एमालेको विधान महाधिवेशनको सँघारमा सिन्धुपाल्चोकको प्रतिनिधि परिषद्  यो बैठकलाई महत्वका साथ हेरिएको छ । १० औं जिल्ला अधिवेशनपछि एमालेले सबै वडा अधिवेशन पालिकाको अधिवेशन सकेर अहिले प्रतिनिधि परिषद् बैठक आयोजना गरेको हो । प्रतिनिधि परिषद् बैठक पछि एमाले सिन्धुपाल्चोकलाई एकताबद्ध बनाएर लैजाने एमाले सिन्धुपाल्चोकका उपाध्यक्ष अर्जुन भण्डारीले बताउनुभयो । 
बैठकमा जिल्लाभरका ७ सय ४५ बढी प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहको एमाले सिन्धुपाल्चोकका सचिव कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । एमाले जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा आयोजित बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई, शेरबहादुर तामाङ प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल,अरुण नेपाल सरेश नेपाल  लगायतका नेताहरूको सहभागिता रहेको छ । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीको प्रथम प्रतिनिधि परिषद बैठक १० बुँदे मेलम्ची घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

मेलम्ची घोषणपत्र, २०८२

१. यो ऐतिहासिक बैठक पार्टी केन्द्रीय नेतृत्व र नीति प्रति पुर्ण विश्वास व्यक्त गर्दै जिल्लाको आन्तरिक पार्टी एकतालाई मजबुद बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्टिय आकाँक्ष र गन्तव्य पुरा गर्न मिसन ८४ मा सिन्धुपाल्चोकका सबै तहको निर्वाचनमा विजय हासिल गर्न जिल्लाका सबै नेता कार्यकर्ताहरु दृढतापूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्दछ ।


२. सिन्धुपाल्चोक जिल्लामा विगतमा घटेका विपदले ठूलो धनजनको क्षति भएका छन् । हाम्रो पार्टी विपदवाट क्षति भएका कोदारी नाकालाई व्यवस्थित गर्न अवरुद्ध सडक तत्काल निर्माण गर्न, अरनिको राजमार्ग स्तरउन्नती गर्न, मेलम्ची र ईन्द्रावतीको वाढीले क्षति पुर्याएको बाटोघाटो, पुल लगायतका भौतिक संरचनाहरु र क्षति भएका नीजि संरचना तथा खेतियोग्य जमिनहरुको मूल्यांकन गरी पुनःनिर्माण गर्न नेपाल सरकार समक्ष यो बैठक विशेष आग्रह गर्दछ ।


३. गुठी समस्या समाधान गरी किसानहरुलाई मध्ययुगीन शेषणबाट मुक्त गर्न आवश्यक कानुन बनाउन यो बैठक जोडदार माग गर्दछ ।


४. महिला दलित लगायत सामन्ती उत्पीडनका शिकार भैरहेका समुदायहरु माथीको हिंशा अहिले पनि जारी छ। भोटेकोशी ६ को वलात्कार पछि हत्याको घटना होस वा दलितहरु माथी गरिएको छुवाछुतको व्यवहार हुन यो हाम्रो लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा आपत्तिजनक घटनाहरु हुन । यस प्रकारका हिंशा अन्त्य गर्ने परिस्थिति निर्माण गर्न सबै पक्षमा आह्वान गर्दछ ।


५. युवाहरु गाउँबाट पलायन हुने क्रम बढ्दो छ । रोजगारीको अभावले राजधानी र विदेशी भूमिमा जीवन निर्वाहको निम्ति भौतारिनु निश्चय नै दुःखद पक्ष हो। नेपाल सरकारले ग्रामिण क्षेत्रमा रोजगारी सृजना गरी युवा शक्ति सृजनशील उर्जालाई राष्ट निर्माणमा सदुपयोग गर्न ठोस योजना ल्याउन हामी जोडदार आह्वान गर्दछौं ।


६. नेपाली जनताले विदेशी भूमिमा रगत पसिना बगाएर आफ्नै भूमिमा कठोर श्रम गरेर संकलन गरेको राजश्वले विकास बजेट तथा आर्थिक साधन श्रोतको दुरुपयोग गर्ने प्रचलन बढ्दै गएको छ । भ्रष्टाचारमा आरोपित र निलम्बित व्यक्तिहरु खुलेआम सरकारी कार्यक्रम र योजनाहरुको उद्घाटन गर्दै हिंडेका छन् । यसबाट भ्रष्टाचारलाई अनुमोदन गरेर भ्रष्टहरुलाई सम्मान गर्नुपर्ने निन्दनीय अभ्यासहरु हुन थालेको छ । हामी भ्रष्टाचारमा आरोति र पदबाट निलम्बितहरुलाई सामाजिक बहिष्कार गर्ने प्रचलन आरम्भ होस भन्ने चहान्छौं। यसको निम्ति

नागरिक समाज र अन्य दलहरुलाई सहयोग पुऱ्याउन र एक्यबद्धता प्रकट गर्न हार्दिक आह्वान गर्दछ ।


७. यो जिल्ला विद्युत उत्पादनको विशाल भण्डार हो। पानीको श्रोतको उपलब्धताको आधारमा विद्युत उत्पालनलाई सहजता प्रदान गर्दै सिन्धुपाल्चोक जिल्लाका जनतालाई निःशुल्क विद्युत प्राप्त गर्ने हक स्थापित गर्न सिन्धुपाल्चोक एमाले दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सरकार र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गर्दछ ।


८. राजधानीलाई पानी खुवाउने बहुचर्चित मेलम्ची खानेपानी योजना सिन्धुपाल्चोक जिल्ला मै अवस्थित छ । यस आयोजना क्षेत्र जाने सडकहरु मेलम्ची हेलम्बु, मेलम्ची भोताङ्ग लार्के र फट्टे दाउचेत केउरिनी बाँसखर्क बरुवा यात्री सडक तत्काल निर्माण गर्न, आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्थान कार्यक्रम संचालन गर्न र मेलम्ची, यारी र लार्केबाट पानी काठमाण्डौंमा पथान्तरण हुँदा प्रभावित क्षेत्रको विकासको लागि लेभी निर्धारण गर्न यो बैठक जोडदार माग गर्दछ ।

९. सिन्धुपाल्चोक जिल्ला भौगोलिक हिसावले तीनवटा भौगोलिक अवस्था र मनोविज्ञानमा रहेको जिल्ला हो । भौगोलिक हिसावले जनताले प्राप्त गर्ने प्रशासनिक सेवा, मालपोत र नापी समेतको सुविधा प्राप्त गर्न धेरै कठिनाई व्यहोरिरहेको अवस्थामा यो परिषदको बैठकले मेलम्ची र बाह्रविसेमा ईलाका प्रशासन (मालपोत र नापी समेत) कार्यालय प्राप्त गर्ने विषयमा नेकपा (एमाले) ले नेतृत्व प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारसंग यो मागमा गम्भीर हुन र हाम्रो माग सम्बोधान गर्न जोडदार माग गर्दछ ।

१०. सिन्धुपाल्चोक जिल्लाको समग्र विकासको आधार हुन सक्ने सुनकोशी ३ जलाशय आयोजना नेकपा एमाले कै सरकारले २०७३ सालमा अगाडि बढाएको हो । यो आयोजना तत्काल निर्माणको चरणमा लान सरकारलाई यो बैठक जोडदार माग गर्दछ ।

प्रतिक्रिया