मेलम्ची । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले देशमा गरिखानेको दिन सुरु भएको बताउनुभएको छ । उहाँले ठगी खाने र मागी खानेको जमाना गएकाले अब हरेक जनता आत्मनिर्भर बनाउने गरि प्रदेश र स्थानीय तहले काम गरिरहेको बताउनुभयो ।
सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित गुफाडाँडामा आयोजित छैटौं जलवायु सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले जनताको शासन मन नपर्नेहरुले गाजाको तालमा लठ्ठ भएर जेनजीको आन्दोलन हाइज्याक गरेर संसद भवन, सिंहदरबार, अदालत जलाएको आरोप लगाउनुभयो । उहाँले राजनीतिको र राजनीतिक दलको नाममा भ्रम छर्नेहरु गाउँ छिर्न सक्ने भन्दै सचेत हुनपर्ने बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले अहिले निर्वाचन हुने वातावरण नभएको भन्दै सरकार निर्वाचन गर्ने गरि अगाडि नबढेको बताउनुभयो । जनतामा युट्युब, फेसबुकबाट भ्रम छरेर दिगभ्रमित गरेकाले जेलबाट छुटेका कैदीहरुबाट शहर बजार असुरक्षित बनेको बताउनुभयो ।
विकासलाई ब्यवस्थित गरेर लैजाने मुख्यमन्त्री बानियाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले जनमुखी, आयमुखी, गाउँमुखी विकास अहिलेको आवश्यकता हाे भन्दै स्थानीय र प्रदेश सरकार मिलेर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सीप तालिम र प्रविधि हस्तान्तरण गर्दै ७०/३० को कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
लहडमा लागेर सिंहदरबार, अदालत जलाउनेहरुले सामाजिक संजालमा भ्रम छरेर देशमा केही नभएको भाष्य निर्माण गरेपनि पुराना दलको विकल्प नभएको बताउनुभयो । हुँदा खानेलाई हुने खाने बनाउने र हुनेखानेले गरेको उद्योग कलकारखानाबाट ट्याक्स लिएर हुँदा खानेलाई उकास्नु राजनीतिक धर्म भएको बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले मेलम्ची गुफाडाँडा ओखरेनीसम्मको सडक निर्माणको जिम्मेवारी लिँदै गुफाडाँडालाई पर्यटकीय केन्द्र बनाउने बताउनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङसँग आफू निरन्तर समन्वय र सम्पर्कमा रहेको भन्दै यहाँको सुखदुःखमा सधैं सँगै रहनेसमेत बताउनुभयो ।
नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता रहेको भन्दै अस्वभाविक विकासको नाममा बिनासतिर नलाग्न र साँच्चिकै जलवायु सम्मेलन सफल बनाउन लाग्नसमेत कार्यक्रममा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री एवम् एमाले नेता शेरबहादुर तामाङले जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्या निराकरणका लागि अन्तर्राष्ट्रिय समुदायले दिने बजेट नदिएको भन्दै गुफाडाँडालाई जलवायु सम्मेलन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायलाई बजेट माग गरेर कार्ययोजनासमेत बनाउन नसकेको प्रति आपत्ति जनाउँदै जलवायु परिवर्तनका बारेमा कुरा गर्दै बिदेश जानेहरुले अहिलेसम्म के गरे भन्ने प्रश्न गर्नुभयो ।
मुलुकमा आगो झोस्नेहरु अहिले सक्रिय रहेको भन्दै कोही मान्छे भ्रष्टाचारी भए समातेर जेल हाल्न चुनौती दिनुभयो । निर्वाचनमा भाग लिने नाममा देशमा आगो बाल्नेहरु गाउँमा आउन सक्ने भन्दै सचेत भएर गाउँको विकास गर्ने, बाटोघाटो मर्मत गर्ने, जनताको आर्थिकस्तर उकास्नका लागि निरन्तर लागिरहने देश बनाउने पार्टीका उम्मेदवारलाई जिताउनसमेत अपिल गर्नुभयो ।
त्यस्तै बागमती प्रदेशका कानुन मन्त्री शिवराज अधिकारीले जलवायु परिवर्तनको असर र त्यसबाट हुने क्षति न्युनिकरणका लागि तीनै तहका सरकार सहकार्य गरेर अघि बढ्दै विकशित राष्ट्रसँग यसकाे क्षतिपूर्ति दाबी गर्नुपर्ने बताउनुभयाे ।
कार्यक्रमका सभापति मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जलवायु पार्क र मेलम्चीदेखि ज्यामिरे गुफाडाँडा, ओखरेनी सडक निर्माणको जिम्मेवारी प्रदेशका मुख्यमन्त्रीले लिएको भन्दै गुफालाई पर्यटकीय हिसाबले निर्माण गर्ने कुरामा मेलम्ची मात्रै नभई छिमेकी पालिकासमेत लागिरहेको बताउनुभयो । तालिम सेन्टर, बुद्धको मुर्ति, टावर बनाएर गुफाडाँडालाई पर्यटकीय र शैक्षिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बुद्धको मुर्ति, डम्फूपार्क, सिँढी निर्माणको लागि बजेट बिनियोजन भैसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी तामाङ, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, निवर्तमान जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ, एमाले नेता बालकृष्ण देउजा, नगरपालिकाका उपप्रमुख उमा प्रधान लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा जलवायुविज्ञ महेश्वर ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा खैजडी भजन, झाँक्रीनाच, विभिन्न विद्यालयका विद्यार्थीहरुको प्रस्तुतिसमेत रहेको थियो ।