लघुकथा -पतित

दिपक विक्रम देउजा

रामबहादुर सुनार

"ठाटीयरै हिँड्नुभएछ नि, पण्डित बा! ठाढै हो कि कसो?"

गैराघरे कान्छेले सोध्यो। विहानको झिसमिसे उज्यालोमा कालो टोपीमुनिको फुलेको सेतो कपाल टड्किएको थियो।


घिउकलरको दौरा सुरुवाल, माथि कालो कोट, खुट्टामा गोलस्टारको जुत्ता बजार्दै हिंडिरहेका थिए पण्डित बा।


"शहरमा छोराले बोलाएको छ। बुहारी पनि उतै छन्। आउन भ्याउँदैनन् रे। त्यसैले आफैँ भेट्न लागेको,"

हिँड्दा हिँड्दै भन्नुभयो।


उहाँलाई हतार थियो —

छोरा–बुहारीसँग गफ गर्न, नाती–नातिनीलाई काखमा खेलाउन,

आफ्नै बारीको केरा, माउरीको मह, आफ्नै गाईभैंसीको घिउ–दूध सुम्पन हतार थियो।


बाटाभरि विगतमा हराउँदै, सम्झनामा रसाउँदै, कहिले हाँसी, कहिले आँसु झार्दै बसपार्क पुग्नुभयो।

बस चढेर, यादमै हराउँदै, शहर पुग्नुभयो।

सोध्दै–खोज्दै छोराको घर पत्ता लगाउनुभयो।


गेटमा ताल्चा थिएन। आफैँ खोलेर भित्र पस्नुभयो।

सीधा बैठक कोठातिर लाग्नुभयो।

कोठाभरि केही जुत्ताहरु छरपस्ट थिए।

भित्र ठूलो हल्ला थियो। उहाँ अलमल्ल पर्नुभयो।


तर उहाँको उपस्थितिले कोठाभित्र एक्कासि सन्नाटा छायो।

फरक–फरक ब्रान्डका पेय पदार्थको गन्हाइ, चुरोटको बाक्लो धुवाँले वातावरण कुहिरोझैँ बनाएको थियो।


पण्डित बा त्यही कुहिरोमा हराउनुभयो।

मनमनै सोच्नुभयो —

"यहाँसम्म आउँदै गर्दा सम्झेका सबै सपना, सबै भावना, सबै चाहना… सायद सब अतीत रहेछन्।

छोरो त… पतित भैसकेछ!"

प्रतिक्रिया