सडक दुर्घटनाका पीडितहरूको सम्झना दिवसको सन्दर्भमा विविध कार्यक्रम सम्पन्न

दिपक विक्रम देउजा

देवरााज सुवेदी

संयुक्त राष्ट्र सङ्घले सन् २००५ मा प्रत्येक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबारलाई विश्वभर सडक दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिहरूको सम्झनामा सडक दुर्घटनाका पीडितहरूको सम्झना दिवस (World Day of Remembrance for Road Traffic Victims - WDR)    को रूपमा मनाउने निर्णय गरे अनुरूप आज चौतारामा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

      

          सडक दुर्घटनाका पीडितहरूको सम्झना दिवसको सन्दर्भ सुरक्षित र दिगो यात्रा नेपाल (SSTN) सँगको सहकार्य तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय खाँडिचौर, सिन्धुपाल्चोकको आयोजनामा चौतारा स्थित सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बन्धु प्रसाद बास्तोला ज्यूको प्रमुख आतिथ्य, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख, प्रहरी उपरीक्षक श्री रामेश्वर कार्कीज्यूको विशिष्ट आतिथ्य, एवम् जिल्ला न्यायाधिवक्ता श्री भगवती देवी गौतम शर्मा, प्रहरी नायव उपरीक्षक श्री माधव खरेलज्यू लगायत सडक सुरक्षाका अभियन्ताहरू, पत्रकार तथा ट्राफिक प्रहरी एवम् स्थानीय व्यक्तित्वहरूको समुपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी विश्व सम्झना दिवस मनाइएको हो ।

सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउनु, दुर्घटनालाई रोक्नका लागि सचेतनाको वकालत गर्नु र जबाफदेहिता बढाउनु मुख्य उद्देश्य रहेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रमुख, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उपस्थित महानुभावहरू प्रति स्वागत गर्नुहुँदै सम्झना दिवसको औचित्य र महत्त्व प्रकाश पार्नु भएको थियो । सो अवसरमा प्रहरी उपरीक्षक कार्कीले  नेपाल प्रहरीको तथ्याङ्कमा गत आ.व.२०८१/०८२ मा मात्रै देशभर २८ हजार ६ सय ९२ सवारी दुर्घटना भएको, दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ५ सय ४९ जना, यस्तै  गम्भीर घाइते ६ हजार ९ सय ७६ जना तथा २७ हजार २ सय भन्दा बढी सामान्य घाइते र अबौंको भौतिक क्षति भएको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै विशेष गरी बालबालिका र युवाहरूका लागि सबैभन्दा ठूलो मृत्युको कारण बनिरहेको र युवा उमेरका व्यक्तिहरूको मृत्युले देशको आर्थिक विकास र सामाजिक प्रगतिको मेरुदण्डमाथि नै गम्भीर चोट पुर्‍याई रहेको वर्तमान परिप्रेक्षमा "सडक दुर्घटनाका पीडितहरूको सम्झना दिवस WDR २०२५" ले हामीलाई दुर्घटनामा "गुमेका प्रतिभाहरू" लाई श्रद्धाञ्जली दिने मात्र नभई, उनीहरूको सपना र क्षमताको सम्मान गर्नका लागि सडक सुरक्षामा ठोस कदम चाल्न ढिलाइ गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

          त्यसै गरी कार्यक्रममा प्रमुख अतिथि सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला ले सडक सुरक्षा प्रति प्रतिबद्ध हुनुपर्ने बिचार राख्नुहुँदै दुर्घटनाका पीडितका पक्षमा राज्य साथमा रहेको कुरा बताउनु भयो । राज्यले अभिभावकत्व लिँदै गर्दा व्यक्ति आफू स्वयं पनि ट्राफिक नियम र सडक सुरक्षा प्रति झनै संवेदनशील हुने पर्ने र निश्चित अनुशासनमा बस्नु पर्नेमा त्यसो हुन नसकेकाले यस्ता दुर्घटनामा बढोत्तरी भएको प्रति इङ्गित गदै अब यस्ता दुर्घटनाहरू हुन नदिन सबै जना सजग र सचेत हुनुपर्नेमा जोड दिनु भयो । साथै प्रमुख अतिथि बास्तोलाले सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झना दिवसको सन्दर्भमा, दुर्घटनाका बखत तत्काल मानवीय सेवा प्रदान गर्ने आपतकालिन टोलीहरू, प्रहरी, चिकित्सक सबैमा हार्दिक नमन तथा ज्यान गुमाएकाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली साथै दुर्घटनामा परी घाइते हुनुभएकाहरुमा शीघ्र स्वास्थ्य लाभको कामना सहित विश्व सम्झना दिवसको  सन्दर्भमा ट्राफिक नियम प्रति सदैव सजग, सचेत र संवेदनशील हुन अभिप्रेरणा सबैमा जागृत हुन सकोस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभयो ।

          सडक दुर्घटनामा परि दिवङ्गत भएकाहरूको आत्माको चिर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनाका साथ दीप प्रज्वलन सहित विविध कार्यक्रम सहित समापन भएको कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक विष्णु थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया