मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले नगर क्षेत्रभित्र कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहुने स्पष्ट प्रतिबद्धता जनाउनुभएको छ। शिक्षा क्षेत्रमा नगरपालिका निरन्तर तथा उल्लेख्य लगानी गरिरहेको बताउँदै प्रमुख तामाङले विद्यार्थीले आत्मविश्वासका साथ पढ्न सक्ने वातावरण निर्माण नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्नुभयो।
इन्द्रेश्वरी माध्यमिक विद्यालयमा कक्षा–११ का नयाँ विद्यार्थीलाई स्वागत गर्न आयोजित कार्यक्रममा प्रमुख तामाङले शिक्षाको महत्व महसुस गर्दै समयमै मेहनत र लगनशीलता अपनाउन विद्यार्थीसँग आग्रह गर्नुभयो। “भविष्य निर्माणको समय अहिलेदेखि नै सुरु हुन्छ,” उहाँले भन्नुभयो, “शिक्षक–गुरुले देखाएको बाटो पछ्याए सफलता टाढा हुँदैन।” उहाँले शिक्षा, खेलकुद, सांगीतिक तथा अन्य सिर्जनात्मक क्षेत्रमा नगरपालिका सधैं साथ दिन तयार रहेको पनि स्पष्ट पार्नुभयो।
कार्यक्रमकी विशेष अतिथि तथा उपप्रमुख उमा प्रधानले विद्यार्थीको सबैभन्दा ठूलो गहना अनुशासन भएको बताउँदै अनुशासित भएर अघि बढ्न सुझाव दिनुभयो। उहाँले यसै विद्यालयका विद्यार्थीहरू विभिन्न महत्वपूर्ण ओहदामा पुगेको तथ्य स्मरण गराउँदै उज्ज्वल भविष्यका लागि निरन्तर परिश्रम आवश्यक रहेको औँल्याउनुभयो।
वडा नं. ११ का पूर्व अध्यक्ष रुद्रप्रसाद दुलालले कक्षा–११ मा भर्ना भई आएका सम्पूर्ण विद्यार्थीलाई शुभकामना दिँदै सफल शैक्षिक यात्राको कामना गर्नुभयो।
त्यसैगरी विद्यालयका पूर्व प्रधानाध्यापक तथा इन्द्रावती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठले विद्यालयमा विज्ञान तथा प्राविधिक धारमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल भइरहेकाले निकट भविष्यमा कानुन विषयसमेत सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
छेसाङ तामाङको अध्यक्षत्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले कविता, गीत, नृत्यलगायत विविध प्रतिभा प्रस्तुत गरेका थिए, जसले कार्यक्रममा उत्साहपूर्ण माहोल सिर्जना गरेको थियो।