मेलम्चीमा दुईदिने निःशुल्क आँखा शिविर सम्पन्न

दिपक विक्रम देउजा

 मेलम्ची नगरपालिकामा सम्पन्न दुईदिने निःशुल्क आँखा शिविरअन्तर्गत शल्यक्रिया गराएका बिरामीहरूको शुक्रबार नगर प्रमुख श्री आइतमान तामाङज्यूले भेटघाट गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

भिजन हिमालयन फाउन्डेसनको आर्थिक सहयोग, मेलम्ची नगरपालिकाको समन्वय तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा आयोजित उक्त निःशुल्क आँखा शिविर मेलम्चीमा सफलतापूर्वक सम्पन्न भएको हो। शिविरमा वरिष्ठ आँखा रोग विशेषज्ञहरूको टोलीद्वारा ८४ जना मोतीबिन्दु पीडित बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको थियो।


बिरामीहरूसँग भेटघाट गर्दै नगर प्रमुख तामाङले आँखाजस्तो संवेदनशील अंगको उपचारले नागरिकको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई अन्त्य गर्न यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू अत्यन्त उपयोगी रहेकोले नगरपालिकाबाट नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनु भयो ।

नगर प्रमुख तामाङले शिविर सफल बनाउन सहयोग पुर्‍याउने भिजन हिमालयन फाउन्डेसन, तिलगंगा आँखा प्रतिष्ठान तथा स्वास्थ्यकर्मीहरूको टोलीप्रति धन्यवाद व्यक्त गर्नुहुँदै स्थानीय नागरिकको स्वास्थ्यप्रति नगरपालिका सधैं जिम्मेवार रहेको स्पष्ट पार्नुभयो।

स्थानीय सेवग्राहीहरूले आफ्नै क्षेत्रमा निःशुल्क रूपमा गुणस्तरीय आँखा उपचार पाउन पाएकोमा खुशी व्यक्त गर्दै आयोजक संस्थाहरू र नगरपालिकाप्रति आभार प्रकट गरेका थियो।

 

प्रतिक्रिया