देवराज सुवेदी राष्ट्रसेवक सहकारी संस्था लि. सिन्धुपाल्चोकको चौथो साधारण सभा भव्य रूपमा सम्पन्ननेपाल निजामती कर्मचारी संगठनको अविभावकत्वमा स्थापित तथा सञ्चालित राष्ट्रसेवक सहकारी संस्था लिमिटेड, सिन्धुपाल्चोकको चौथो साधारण सभा आज मिति २०८२/०९/२७ गते सदस्यहरूको भव्य उपस्थितिमा विविध एजेण्डामाथि छलफल तथा निर्णय गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।
साधारण सभा राष्ट्रसेवक सहकारी संस्था लि. चौताराका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोक जिल्ला इन्चार्ज मेघराज भट्टराई प्रमुख अतिथि रहनु भएको थियो भने ने नि क सं सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्ष दुर्गा प्रसाद ढुंगेल विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। साथै शम्भु पोखरेललगायत अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय आतिथ्यता रहेको थियो।
कार्यक्रममा ने नि क सं केन्द्रीय सचिवालय सदस्य तथा सिन्धुपाल्चोक संगठन जिल्ला इन्चार्ज मेघराज भट्टराईलगायत विभिन्न वक्ताहरूले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रसेवक सहकारी संस्थाको सवलीकरण, सुशासन र दिगो विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो।
सोही अवसरमा नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकका जिल्ला कोषाध्यक्ष राजन भुजेलले संविधानले दिएको अधिकार प्रयोग गर्दै निजामती कर्मचारी संगठनले कर्मचारीहरूको हक र हितको संरक्षणका लागि सशक्त रूपमा आवाज उठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले संगठनलाई अझ सुदृढ, एकताबद्ध र अधिकारमुखी बनाउँदै कर्मचारीका समस्या र मागहरूलाई संस्थागत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी संगठनका जिल्ला सदस्य सरोज धितालले नेपालमा कार्यरत निजामती कर्मचारीसँगै करार सेवामा कार्यरत कर्मचारीहरूको सुरक्षा, स्थायित्व र सामाजिक सुरक्षाप्रति राज्यले गम्भीर ध्यान दिनुपर्ने विषयमा केन्द्रित रही धारणा राख्नुभयो। उहाँले सबै कर्मचारीहरूका लागि सम्मानजनक कार्य वातावरण र भविष्यप्रतिको सुनिश्चितता राज्यको दायित्व हुनुपर्ने बताउनुभयो।
यसै क्रममा नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोक जिल्ला कार्य समितिको बैठक समेत बसेको थियो। बैठकले संगठनलाई थप क्रियाशील र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। बैठकबाट
संगठन सदस्यहरूका लागि यथाशीघ्र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने,
संगठन सदस्यहरूको नवीकरण कार्य तीव्र बनाउने तथा नयाँ सदस्य संख्या वृद्धि गर्ने,
संगठन सुदृढीकरणसँग सम्बन्धित अन्य विविध विषयहरूमा छलफल गरी निर्णय पारित गर्ने निर्णय गरिएको छ।
चौथो साधारण सभा तथा जिल्ला कार्य समिति बैठकले राष्ट्रसेवक सहकारी संस्था र निजामती कर्मचारी संगठनलाई अझ सशक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।